चितवन । चितवन क्षेत्र नम्बर १ पछि राज्यमन्त्री उमेश श्रेष्ठले दिए क्षेत्र नम्बर २ मा पनि गरे आवेदन दर्ता
चितवन । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । मंगलबार मात्रै उनले चितवन क्षेत्र नम्बर १ मा पनि आवेदन दर्ता गरेका थिए ।
दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न काँग्रेसी नेता तथा कार्यकर्ताले सुझाव दिएका थिए ।
क्षेत्रीय समितिमा आवेदन दर्ता गरिसकेपछि राज्यमन्त्री श्रेष्ठले चितवनलाई समृद्ध बनाउन आफू हरतरहले लाग्ने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य र पर्यटन तथा कृषि क्षेत्रको विकास गरेर चितवनलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ मा राज्यमन्त्री श्रेष्ठको निवास छ । यो चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा पर्छ ।
यस्तै अन्य आवेदन दिने नेताहरुमा चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, राजेश्वर खनाल र उमा रेग्मीले पनि आवेदन दर्ता गराएका छन् । समानुपातिकतर्फ शालिग्राम शर्मा, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार र केशवराज कँडेलले आवेदन दर्ता गराएका छन् ।