चितवन । फेब्रुअरी १४ प्रेम दिवस तथा अन्तराष्ट्रिय कण्डम दिवसको अवसर पारेर चितवनका विभिन्न ठाउंँमा कण्डम वितरण गरिएको छ । एड्स विरुद्ध सचेतना जोगाउन तथा यस रोगको न्यूनिकरणका लागि विभिन्न प्लेकार्ड सहित सचेतना गरिएको हो । कण्डम सधै फेशनमा भन्ने मुल नाराका साथ भरतपुर अस्पताल परिषर बाट बाईपास , चौबिसकोठी, नारायणगढ , हाकिमचोक हुँदै कण्डम वितरण तथा अटो र्याली गरिएको एचएफ(एड्स हेल्थकेयर फाउण्डेशन)का कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । उनका अनुसार विभिन्न एड्स जोखिम व्यक्ति , पेशा , व्यवसायका क्षेत्रलाई लक्षित गरी कण्डम वितरण गरिएको छ । यसको साथै जोखिम क्षेत्र बसपार्क , यातायात क्षेत्रमा कण्डम वितरण गरिएको छ ।
‘प्रेम दिवसमा कण्डम बाड्दा समाजमा जनचेतना जागृत पनि हुन्छ । एड्स न्यूनिकरणमा मदत पनि पुग्छ ।’ संयोजक सापकोटाले भने । सचेतना र्यालीमा एड्स प्रभावित व्यक्ति, भरतपुर अस्पताल चिकित्सक, स्वास्थ्यकर्मी तथा यस सम्बन्धी विभिन्न संस्थाहरुले एड्स सम्बन्धी सचेतना जगाउन प्लेकार्डहरु , टिसर्ट तथा ब्यानर सहितको र्याली निकाल्नुको साथै कण्डम वितरण गरेका थिए । कार्यक्रममा तीनहजार भन्दा बढी कण्डम वितरण गरिएको सापकोटाले जानकारी दिए ।