चितवन – कप्तान सनिल गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा वातासिनो जि ब्वाइजले सहज जित हात पारेको छ ।
आज (आइतबार) भएको खेलमा जि ब्वाइजले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई ४-१ ले पराजित गर्यो । जि ब्वाइजको जितमा सनिलले हृयाट्रिकसँगै सोमबहादुर श्रेष्ठले एक गोल गरे । युनिकका कुशल प्रताप गुरुङले एक गोल गरे ।
खेलमा अग्रता भने युनिकले लिएको थियो । खेलको १० औं मिनेटमा कुशलले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । तर युनिकको अग्रता धेरै बेर टिक्न सकेन । १६ औं मिनेटमा जि ब्वाइजका क्याटेन सनिलले बराबरी गोल फर्काए ।
२१ औं मिनेटमा सोमले गोल गर्दै जि ब्वाइजलाई २-१ को अग्रता दिलाए । पहिलो हाफमा नै जि ब्वाइजले अग्रता लम्बायो । ३३ औं मिनेटमा सनिलले ब्यक्तिगत दोस्रो गोल गरेपछि जि ब्वाइजले पहिलो हाफमा ३-१ को अग्रता लियो ।
दोस्रो हाफमा जि ब्वाइजले थप एक गोल गर्यो । ७५ औं मिनेटमा सनिलले हृयाट्रिक गरेपछि जि ब्वाइजले ४-१ को सहज जित दर्ता गर्यो । जारी लिगमा जि ब्वाइजको यो पहिलो जित हो । खेलको म्यान अफ दि म्याच जि ब्वाइजका कप्तान सनिल चुनिए ।
यो जित सँगै जि ब्वाइजले समूह ‘ए’ को तालिकामा चार खेलबाट ४ अंक बनाएको छ । जि ब्वाइज तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट २ अंक बनाएको युनिक तालिकाको पुछारमा झरेको छ ।
लिग अन्तर्गत सोमबार दुई खेल हुनेछ । सोमबारको पहिलो खेल दिउँसो १ बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सौराहा युवा समाजबीच हुनेछ । दिउँसो ३:३० बजे नारायणगढ फुटबल क्लब (एनएफसी) र पानस युवा क्लब भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।
Attachments area