फागुन ३, चितवन । भरतपुर आँखा अस्पतालको नयाँ भवनको लागि शिलन्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण प्रक्रिया थालिएको हो । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमबार भवनको शिलान्यास गर्नु भएको हो ।
निर्माण थालेको ६ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रियाकक्ष (अपे्रशन थियटर) सञ्चालन हुनेछ ।
अस्पतालले कुल १४ करोड ३५ लाख खर्च लागत अनुमान सुविधासम्पन्न भवन बनाइन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । बजेट अभाव भएका कारण हाललाई सुरुवात मात्रै गर्न लागिएको नेपाल नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनुभयो ।
अस्पतालमा हाल ६२ शैया सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एकसय शैया थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिनुभयो । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने चौधरीको भनाई छ ।
शिलन्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले १ करोड रुपैंया सहयोग गर्ने बताउनु भयो । उनले तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारको एक शहर एक पहिचान रुपमा भरतपुर मेडिकल सिटीको रुपमा विकास भएको भन्दै उहाँले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महानगर लागिरहेको दाहालको भनाई थियो ।
बि.सं. २०४४ साल चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो । स्थापना कालमा ३६ शैयाबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगहरुको निदानका गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थियो ।
अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवा लगायतका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि पाँच सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ ।