चितवन । क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो ।
लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।
नेपाली क्रिकेटमा पुर्याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको अवसर पार्दै लामिछानेलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाईबी) ले बताए । लामिछानेले क्रिकेटको माध्यमबाट देशलाई अतुलनिय योगदान गरेको पौडेलको भनाइ थियो ।
सो अवसरमा लामिछानेले आफ्नो सुरुवाती दिन स्मरण गरेका थिए । उनले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिए । उनले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।
चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सन्दीप कडा मेहेनत र अनुशासनले आज विश्वमाझ चिनिएको बताए । उनले धेरै युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गरेको पियाको भनाइ थियो ।
यस अघि आज नै भरतपुर महानगरपालिकाले पनि सन्दीपलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।