मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन् ।” उहाँले वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नुभयो ।
प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारविरुद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भू–माफिया एवं तस्करीकाविरुद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सरकार पूर्णरुपमा सफल भएको बताउनुभयोे ।
प्रधानमन्त्री दाहालले एनसेलका सम्बन्धमा प्रर्याप्त तथ्य, प्रमाण र तथ्याङ्क राज्यव्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गर्नुभयो ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा समाजवादको भाव आउने खालको नयाँ नाम राख्नेगरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुङ्गो लगाउनुपर्छ भन्नुभयो । प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्वन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालको शुक्रबार सुनसरीको भोक्राहामा विद्युत् प्रशारण लाइनको उद्घाटन गर्ने, मोरङको मिक्लाजङ गाउँपालिकामा विकास कार्यको अनुगमन गर्ने र विराटनगरस्थित मोरङ व्यापार सङ्घद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस