चितवन – चितवनको कालिका नगरपालिकामा सुरु भएको कमरेड निमा स्मृति खुला नक आउट फुटबल प्रतियोगितामा कमरेड निमा विजयी भएको छ ।
आज (बुधबार) भएको उद्घाटन खेलमा कमरेड निमाले आयाम युवा समाजलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।
टाईब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा कमरेड निमाले बाजी मार्यो । कमरेड निमाका कप्तान तथा गोलरक्षक प्रदीप भण्डारी म्यान अफ दि म्याच चुनिए । त्यस अघि बागमती प्रदेशका पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल (अविनास) ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा बिहीबार पनि एक खेल हुनेछ । बिहीबार शान्तिको किचन र कालिका १ भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ गतेसम्म हुने प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।